Advertisement

अलौकिक गुप्तेश्वर गुफा

झन्डै ९० वर्ष अगाडि पत्ता लागेको गुप्तेश्वर गुफा पर्वत सदरमुकाम कुश्मा नगरपालिका–४ मा अवस्थित छ।

पुरातात्त्विक र वैदिक परिचय दिने भालु दुलो नामले परिचित यस गुप्तेश्वर गुफाको ज्ञात इतिहास अनुसार, कालीगण्डकी नदीमा नुहाएर फर्कँदै गर्दा वि.सं. १९९१ चैत्र ६ गते स्थानीय रत्नबहादुर कार्की, दलबहादुर राना मगर, रूपनारायण श्रेष्ठ, सर्वजीत खत्री र श्यामप्रसाद जोशीसहित पाँचजना युवा प्रथमपटक गुफामा प्रवेश गरेका थिए। यसपछि गुफाले स्थानीय समाजसँग परिचय साट्यो र आफू विराट र अलौकिक रहेको एकपछि अर्को प्रमाण पेश गर्यो।

Gupteshwor Cave Parbat

कुश्मालाई तत्कालीन समयमा भोट-मधेश गर्ने नाकाको रूपमा  लिइन्थ्यो। उतिबेलै काठमाडौँ-पोखरा हुँदै मुक्तिनाथ, दामोदरकुण्ड, मानसरोवरसम्म जाने स्वदेशी-विदेशीहरूको आगमनसँगै कुश्मामा आर्थिक चहलपहल बढ्दै गयो। फलतः गुफा जनमानससम्म पुग्यो।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय गुफा कुश्मा बजारदेखि करिब पाँच सय मिटरको दुरीमा र कालीगण्डकी नदी देखि करिब दुई सय मिटरको दूरीमा रहेको छ। पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउँ भनी यही गुफामा व्रत बस्ने गरेको किंवदन्ती छ। भगवान शिव गुप्त रहेको स्थलको रूपमा मानेर पनि यसको नाम “गुप्तेश्वर महादेव गुफा” नामकरण भयो। किंवदन्ती अनुसार महादेव र पार्वतीबिच विवाह भएपछि दुवै जना केही समय यही गुफामा गुप्त बास बसेकोले यो गुफालाई “गुप्तेश्वर महादेव गुफा” भनिएको भन्ने पनि छ।

भिडियोमा हेर्नुहोस्ः

नेपालकै सबैभन्दा लामो गुफाको रूपमा दाबी हुँदै आएको गुफाभित्र पानी रसाइरहेको हुन्छ। बर्षौँ पुराना चट्टानहरू खिएर विभिन्न देवी देवताका आकृतिहरू जस्तै देखिन्छन्।  

हिन्दु धर्मग्रन्थ श्रीस्वास्थानी ब्रतकथा र शिवपुराणमा उल्लेख भएअनुसार परापूर्व कालमा कुशुमपुर र कुशुम वाटिका (हालको कुश्माबजार) मा प्रशस्त फलफूल र कुश पाइन्थ्यो। अत्यधिक मात्रामा फलफूल र कुश पाइने कुशुमपुरबाट फलफूल र कुश टिपेर हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव पति पाउँ भनी पाङस्थित पार्वती गुफामा समेत तपस्या गरेको किंवदन्तीमा पाइन्छ।

सोही धार्मिक विश्वासका साथ महााशिवरात्री, बाला चतुर्दशी, श्री स्वस्थानी ब्रतकथा अवधि, राम नवमी तथा अन्य हरेक चाडपर्वको साथै प्रत्येक एकादशी र सोमवारका दिन गुफामा भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। गुफा दर्शन गर्न जानेहरूको लागि गुफाभित्रै हिँड्नका लागि फलामे बाटो र विद्युतीय उज्यालोको व्यवस्था गरिएको छ। पुर्खाहरूले गुफाको लम्बाई करिब पाँच किलोमिटर रहेको बताएको इतिहास सुन्नमा पाइन्छ तथापी यसको लम्बाईको बारेमा यकीन हुन सकेको छैन। 

तह तह परेर बनेको उक्त गुफाको करिब एक सय मिटर भित्रसम्म रहेको सुमेरु पर्वत र पञ्च पाण्डवको क्षेत्रसम्म विद्युत् जडान गरिएको छ। उक्त स्थानसम्म सहज रूपमै भित्र जान सकिन्छ। पञ्च पाण्डवको क्षेत्रमा गुफा निकै सानो भएकाले सानो शरीर भएका व्यक्तिहरू घसारिएर मात्रै भित्र जान सक्छन्। उक्त स्थान पार गरेपछि भने फेरि फराकिलो बाटो रहेको त्यहाँ प्रवेश गरेकाहरू बताउँछन्। त्यहाँबाट छिर्न नै कठिन हुने र सामग्रीहरू लैजान पनि कठिन हुने भएकाले त्यसपछिको भागमा विद्युत् जडान गरिएको छैन। 

वि.सं. २०१५ सालमा राजा महेन्द्रबाट उक्त गुफाको दर्शन गरेपछि गुप्तेश्वर गुफा लाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न थालिएको हो। कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जी जम्पबाट केही मिटरको दूरीमा रहेको गुफाको आवश्यक प्रचारप्रसार हुन नसक्दा बाह्य पर्यटकहरू भने आकर्षित हुन सकिरहेका छैनन्।

Post a Comment

0 Comments