Advertisement

रेसुङ्गा धार्मिक तथा पर्यावरणीय क्षेत्रको भ्रमण (ब्लग)

तम्घासदेखि करिब ६ किलो मिटर कालोपत्रे सडक हुँदै  रेसुङ्गा महापोखरीसम्म पुग्न सकिन्छ । महापोखरीदेखि यज्ञशालासम्म पुग्न ढुङ्गा र रेलिङ लगाएर आकर्षक पदमार्ग बनाइएको छ ।

रेसुङ्गा महापोखरी

तपस्वी लक्ष्मीनारायण स्वामीले तपस्या गरेको बेला वि.सं.१८८३ मा सबै तीर्थस्थलबाट जल ल्याई यहाँ रहेको महापोखरीमा मिसाउनु भएको किंवदन्ती छ । 

हाल यहाँ रहेको महापोखरीको वरिपरि २७ वटा गौमुखे धारा छन् । यस पवित्र पोखरीमा स्नान गर्न साउन महिना र एकादशी लगायतका पर्वहरुमा दर्शनार्थीको ठूलो घुइचो लाग्ने गर्दछ ।

रेसुङ्गा पशुपति शिवालय मन्दिर

रेसुङ्गा महापोखरी कै आडमा आकर्षक रेसुङ्गा पशुपति शिवालय मन्दिर र धर्मशाला रहेको छ। नेपालको एक महत्वपूर्ण पवित्र तिर्थस्थल रेसुङ्गाधाम धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ। त्रेता युगमा महर्षि ऋषि शृङ्गले यहाँ आश्रम बनाई साधना गरेकाले उहाँको नामबाट रेसुङ्गा नामाकरण भएको हो । तिर्थाटनसँगै रेसुङ्गामा वनभोजको लागि समेत आउने गर्दछन्।

रेसुङ्गा पदमार्ग

रेसुङ्गा महापोखरीदेखि यज्ञशालासम्म ९९४ वटा खुड्किला र यज्ञशाला देखि भ्युटावर सम्म थप खुड्किला सहित कुल ७९६ मिटर लम्बाइको रेलिङसहितको दोहोरो आधुनिक पदमार्ग (सिँढी) निर्माण गरिएको छ । सिँढी उक्लँदै जाँदा विभिन्न प्रजातिका फलफूल तथा रुखबिरुवा, खानेपानी, शौचालय र सेड सहितको चौपारी, आकर्षक गुरडस्थान, रामकुवाको निर्माण तथा संरक्षण गरिएको देख्न सकिन्छ पदयात्रा कै क्रममा मौसमअनुसार लालिगुरास, ऐसेलु, चुत्रो, काफल जस्ता फलफूलको मज्जा लिन सकिन्छ । रेसुङ्गाको महत्त्व जोगाइराख्न, जैविक विविधता र प्राकृतिक मनोरम दृष्यावलोकनको मज्जा लिन चुचुरोसम्म गाडी जाने बाटो नखनेर पदमार्ग बनाइएको छ।

रामकुवा

राजा दशरथका सन्तान नभएपछि रेसुङ्गामा तपस्या गर्दैआएका श्रीङ्ग ऋषिलाई लगेर पुत्रेष्ठि यज्ञ गराएपछि राम लक्ष्मणको जन्म भएको थियो । भगवान् रामचन्द्रले श्रीङ्ग ऋषि तपस्यारत रेसुङ्गा पुगी तपाईंका लागि हामीले केही काम गरिदिने इन्छा छ भन्दा ऋषिले पानीको अभाव भएको बताएपछि रामलक्ष्मणले बाणले हानेर कुवा खनिदिएका थिए भन्ने किंवदन्ती रहिआएको छ । रेसुङ्गामा रहेको रामकुवालाई संरक्षण गरी राखिएको छ र त्यहाँ सम्म जानका लागि सिँढीको व्यवस्था समेत गरिएको छ । यहाँ जुनसुकै महिनामा पनि जल एकै सतहमा रहने गरेको छ, सुक्ने र पोखिने गर्दैन ।

रेसुङ्गा यज्ञशाला

रेसुङ्गाको मुटुको रूपमा रहेको यज्ञशालालाई आकर्षक तरिकाले सिँगारिएको छ । सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित रेसुङ्गाकै ठूलो मन्दिर यज्ञशालाभित्र हवन कुण्डमा अखण्ड रुपमा धुनी प्रज्वलित रहिरहन्छ । रेसुङ्गाको सबैभन्दा महत्वपूर्ण मन्दिरको रुपमा यस यज्ञशाला रहेको छ ।

यज्ञशालाबाट विष्णुपादुकासम्म तीन सय मिटर रेलिङ सिढी निर्माण, आश्रम पछाडि बाहिरबाट आउने आगन्तुकका लागि एक सय जना मान्छे बस्न मिल्ने ट्रष्ट निर्माण गरिएको छ । ट्रष्टमा नाच्ने र गाउनेलगायत धार्मिक गतिविधि गर्न मिल्छ ।

समुद्र सतहबाट करिब २३४७ मिटर उचाइमा रहेको रेसुङ्गा प्रकृतिको अनुपम मिठासले सुसज्जित छ। चिसो हावापानी, वनस्पती, जीवजन्तु र पशुपंक्षीको विविधिताले यस क्षेत्रको महत्व तथा गरिमालाई उच्च बनाएर जीवन्त राखेका छन्। यस क्षेत्रसँग जोडिएका विभिन्न प्रसंग महाभारत तथा वाल्मीकि रामायणमा समेत उल्लेख भएको पाइन्छ। सत्य युगदेखिको तपोभूमिको रूपमा रहेको रेसुङ्गा ऋष्यशृंगबाट अपभ्रंश भई रेसुङ्गा नाम रहन गएको कथन छ। महर्षि ऋष्यशृंग यस क्षेत्रमा तपस्या गरी बसेको थाहा पाई उहाँलाई भेट्न राम लक्ष्मण रेसुङ्गामा आएको ऐतिहासिक तथ्य समेत योसँग जोडिने गर्दछ। सो क्रममा रामले तिर्खा मेटाउन वाणमार्फत रामकुवा बनाएको रोचक प्रसंग समेत यसमा उल्लेख छ। करिब २०० भन्दा बढी प्रजातिका चराचुरुंगीको बासस्थान रहेको यस क्षेत्रमा यात्रा गर्दा चराका फरक-फरक आवाजले वातावरण नै संगीतमय बनेर गुन्जेको आभास मिल्छ। पर्यटकीय सम्भावना उच्च रहेको यस क्षेत्रको संरक्षण, व्यवस्थापनको काम समेत भैरहेको हुदाँ पर्यटनको अनुपम गन्तव्य बन्न यो क्षेत्र अग्रसर छ।

सयौं वर्षदेखि अखण्ड रुपमा धुनी प्रज्वलित रहिरहको यस यक्षशालाबाट निकालिएको भष्मको ठूलो धार्मिक महत्व रहेको छ । हामी यस पवित्र देवभूमी, तपोभूमीको परिसरमा यो चञ्चल मनलाई भगवानसँग जोड्ने अभ्यास गर्दै केहि समय आध्यात्मिक आनन्दमा डुबुल्की मारियो।

अब केहि सिढी उक्लिएपछि पुरानो सिद्धमन्दिर, रेसुङ्गा भ्युटावर, विष्णुपादुका लगायत स्थानहरुको अवलोकन गर्‍यौं। सिद्धबाबा थान अर्थात सिद्धमन्दिरको दर्शन गरी हामी रेसुङ्गा भ्युटावर तर्फ गयौं।

रेसुङ्गा भ्यूटावर

रेसुङ्गाको शिरमा निर्मित भ्यूटावरबाट पर्वतमाला र सेतै टल्किएका हिमशृङ्खलासहित अनुपम दृश्यहरू नियाल्न सकिन्छ । मौसम अनुकुल नभएकोले यस भ्रमणका क्रममा हामीले यो दृश्य भने अवलोकन गर्न पाएनौं । आध्यात्मिक, धार्मिक र पर्यटकीय महत्वको त्रिवेणी रेसुङ्गा पुगेपछि मन्दिरको दर्शनसँगै मनोरम दृश्य हेर्दा जो कोही पनि मोहित हुन्छन् । रेसुङ्गाको फेदीमा तम्घास बजार छ । यहाँबाट टाढाटाढासम्मको दृश्यावलोकन समेत गर्न सकिन्छ। भ्युटावर चढ्ने सिढीको भित्री भित्तामा गुल्मीका यी महत्वपूर्ण स्थानहरुको तस्बिरलाई प्रिन्टिङ गरिएको छ । जसमा गुल्मी जिल्ला प्रवेशद्वार रिडी, रिडी बजार, ऋषिकेश मन्दिरको प्रवेशद्वार, ऋषिकेश मन्दिर, रुद्रावती र कृष्णगण्डकीको संगम स्थल रुद्रवेणी, शालीग्राम पाइने नदी कालीगण्डकी, श्रृष्यश्रृङ्ग तपोभूमी प्रवेशद्वार, श्रृष्यश्रृङ्गेश्वर तपोभूमी, कुर्घा मालिका मन्दिर, टिमुरे दह, दरबार देवीस्थान चारपाला, सुन्दर नगरी तम्घास बजार, धागीथुम भगवती मन्दिर तम्घास, ऐतिहासिक धुर्कोट दरबार, रेसुङ्गा गौशाला परिसर, आदर्श महात्मा देवदत्त, सानो रेसुङ्गा, रेसुङ्गा महापोखरी, रेसुङ्गा यज्ञशाला, रेसुङ्गा भ्युटावर रहेका छन्।

रेसुङ्गा भ्युटावरबाट तमघास बजार, रेसुङ्गा बिमानस्थल र टाढाटाढा देखिनेजति सबै दृश्यावलोक गरियो । चिसो हावाको चरम आनन्द लिएर केहि समय हामी प्रकृतिसँगै हरायौं । गर्मी ठाउँबाट गर्मी मौसममा आएका हामीहरुलाई यहाँको चिसो हावाले ठूलो राहत मिलेको थियो ।

यसपछि हामी रेसुङ्गाका आकर्षण स्वामी शशीधरको समाधिस्थल, विष्णुपादुका र लक्ष्मीनारायणको समाधिस्थल तर्फ गयौं।

नेपाल टेलिकम, रेडियो नेपाल एफएम व्याण्डमा १०० मेगाहर्जको टावर समेत यहाँ रहेका छन्।

श्री ३ जंग बहादुर राणाका पुत्र जर्नेल जगतजंग राणाले वि.सं. १९३९ अर्थात आज भन्दा करिब डेढ सय वर्ष अघि बनाएको शिवालय मन्दिर र महाप्रभु लक्ष्मीनारायणद्वारा आफ्नै झोलीका पैसाले वि.सं. १९२० भन्दा पहिल्यै बनाएको विष्णुपादुका मन्दिर यहाँका मुख्य धार्मिक तथा ऐतिहासिक महत्वका आकर्षण हुन्।

रेसुङ्गामा गौशाला पनि रहेको छ । महाप्रभु लक्ष्मीनारायणको तपस्यास्थल गौशालादेखि एक घण्टाको पैदल यात्रापछि सावनी शिवालय पुग्न सकिन्छ । आश्रमभित्र फलफूल बगैँचा छ । कम्पाउण्डभित्र हवनकुण्ड, कुवा र भक्तजन बस्न बनाइएका आश्रमका भग्नावशेष छन् । पोखरीको पूर्वपट्टी डाँडोमा त्रेता युगका ऋषि शृङ्ग आफ्नो अर्धाङ्गगिनीलाई लिएर आएका थिए भन्ने किंवदन्ती छ ।

त्यस्तै, रेसुङ्गा र अर्जुन दुई भाइका रूपमा परिचित छन् । रेसुङ्गाको पश्चिमपट्टी उभिएको अर्जुन डाँडाले तम्घाँस आउने पाहुनालाई मन मोहित पार्छ । पाँच पाण्डवहरू महाभारतको युद्धपछि धार्मिकस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा एक भाई अर्जुन उक्त डाँडामा बसेकाले अर्जुन डाँडा नाम रहन गएको किंवदन्ती छ ।

यहाँ आएका धेरै पर्यटकले हिमाल, मठमन्दिर र वन क्षेत्रको दृश्य तस्बिरमा कैद गर्छन्। रेसुङ्गामा पुस–माघमा ढपक्क हिउँ पर्छ । फागुन–चैतमा लालीगुराँस फुलेर जङ्गल रातै हुन्छ ।

धार्मिक तथा पर्यावरणीय दृष्टिले महत्व बोकेको रेसुङ्गालाई भौतिक संरचना निर्माणले थप आकर्षक बनाएको छ । भारतसहित नेपालका विभिन्न ठाउँबाट धार्मिक तीर्थालु रेसुङ्गासँगै अर्जुन डाँडा पनि पुग्ने गरेका छन् ।

विष्णुपादुका, शिवालय, स्वामी शशिधर लक्ष्मीनारायण महाप्रभुको समाधिस्थल, रेसुङ्गा भ्यटावर, शिद्ध मन्दिर, रेसुङ्गा यज्ञशाला, रामकुवा, गरुडस्थान, महापोखरी लगायत धार्मिक स्थलहरुको दृश्यावलोकनसँगै हामी रेसुङ्गाबाट फर्कियौं ।

रेसुङ्गा धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारपसारमा एउटा सानो इटा थप्न सकियोस् भनेर हामीले यो सामाग्री तयार पारेका छौं । दृश्यावलोकनका यसैसँग भिडियो पनि पोष्ट गरेका छौं।

हाम्रो भ्रमण टोलीमा विवेक भण्डारी, सुस्मिता पौडेल र शुसिल भण्डारी सहित म चक्रपाणी भण्डारी थियौं । 








भिडियोका लागि यहाँ जानुहोला ।

थप तस्बिर यहाँ हेर्न सकिन्छ।

Post a Comment

0 Comments