Advertisement

ऐतिहासिक तथा पुरातात्विक महत्वको प्रेमको प्रतिक रानीमहल

आउनुहोस् आज हामी ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीमहल सँगसँगै घुमौं।

पाल्पा जिल्लाको तानसेन नगरपालिका-१३ स्थित पाल्पा र स्याङ्जा जिल्लाको सिमाना रानीघाटमा कालिगण्डकी नदी किनारमा यस रानीमहल अवस्थित छ। श्री ३ वीर शमशेरले तत्कालीन कमान्डर इन चिफ तथा श्री ३ रोलक्रममा रहेका खड्ग शमशेरले आफूविरुद्ध षड्यन्त्र गर्न लागेको आरोपमा पदच्यूत गरी काठमाडौं निकाला गरेपछि खड्ग शमशेर पाल्पामा गई पाल्पालाई काठमाडौं जस्तै सुन्दर र विकसित बनाउन प्रयत्न गरेका थिए। यसै क्रममा खड्ग शमशेरकी रानी तेजकुमारीले आफ्ना नाममा ताजमहल स्थापना गर्ने इच्छा गरेको र तिनको असामयिक निधनपछि भावविह्वल बनेका खड्ग शमशेरले स्वर्गीय पत्नी तेजकु‌मारीको स्मृतिमा उनकै समाधिस्थल रानीघाटमा एक विशाल तथा कलात्मक दरबार रानीमहलको निर्माण गरेका थिए। वि.सं. १९४९ मा बेलायती इन्जिनियर र प्राविधिकहरूको संलग्नतामा निर्माणकार्य सुरु भएको यो दरबार वि.स. १९५४ मा सम्पन्न भएको थियो। युनानी शैलीमा निर्माण गरिएको यस दरबारलाई हाल रानीमहल तथा नेपालको ताजमहलका नामले चिनिन्छ। खड्ग शमशेरले आफ्नी रानीको सम्झना र समर्पणमा निर्माण गरेको भएकाले यस दरबारलाई प्रेमको प्रतीकका रूपमा समेत मान्ने गरिन्छ। प्रेम गर्ने जोडीहरू जीवनकालमा कम्तीमा एक पटक भए पनि रानीमहल पुगेमा आफ्नो प्रेम अमर रहने विश्वास गर्दछन्।

हरियाली तथा स्वच्छ वातावरण एवम् शान्त कालिगण्डकी नदीको समीपमा रहेको यस रानीमहल अवलोकन तथा मनोरञ्जनका लागि स्वदेशी तथा विदेशी गरी दैनिक सयौं पर्यटक पुग्ने गरेका छन्।

कालीगण्डकी नदीको किनारमा भिरालो चट्टानमाथि निर्माण गरिएको यस दरबार अत्यन्तै आकर्षक छ। ऐतिहासिक र पुरातात्त्विक महत्व बोकेको यस रानीमहल पाल्पा जिल्लाको सदरमुकामबाट करिब १३ किलोमिटरको पक्की सडक हुँदै तथा कालीगण्डकी करिडोरबाट करिब २ कि.मी. दुरीको सडक हुँदै यहाँ पुग्न सकिन्छ

दरबारको बायाँतर्फ शीतल पार्टी दरबार परिसरमा फोहोराका लागि कुँदिएको ढुङ्गाले निर्मित दुई वटा पोखरी र दाहिनेतर्फ पहरा दिने स्थल पनि छ। दरबार परिसरमा बायाँतर्फ शिव लिङ्ग र गङ्गाका दुई मन्दिर छन्। दर्जनौँ कोठा, सुन्दर पोखरी, वरपरको सुन्दर बगैँचा, अतिथि कक्षको बनावट र कलाकौशलले भरिपूर्ण य महल इँटा, सालको काठ, सुर्खी, इँटाको धुलो जस्ता विशेष सामग्रीबाट निर्माण गरिएको छ ।

अहिले यसको वरिपरि विभिन्न होटल रेस्टुरेन्ट खुलेकाले पर्यटकका लागि बस्ने खाने व्यवस्थासमेत व्यवस्थित बन्दै गएको छ। टाढा टाढादेखि घुमफिर गर्न आउने पर्यटकका लागि रात्रि शिविरको समेत व्यवस्था रेस्टुरेन्टले गर्ने गरेकान्। यहाँ आउने पर्यटकले यसको भरपुर मनोरञ्जनका लिन सक्छन्

मितिः २०८१/०२/१२ गते शनीबार।

हाम्रो भिडियो (भ्लग) हेर्नुहोस्ः

Post a Comment

0 Comments