Advertisement

नेपाल सार्वजनिक क्षेत्र लेखामान: एक परिचय

  • नेपालको सार्वजनिक लेखाप्रणालीलाई सुविधासम्पन्न, नतिजामुखी, यथार्थपरक र अन्तर्राष्टिय स्तरको बनाउन नेपाल लेखामान वोर्डद्वारा तयार गरिएको लेखामानलाई नेपाल सार्वजनिक क्षेत्र लेखामान (NPSAS) भनिन्छ।
  • International Federation of Accountants – IFAS को Public Sector Committee द्वारा विकसित Cash Basis International Public Sector Accounting Standards – IPSAS मा आधारित यस लेखामान नेपाल सरकारको मन्त्रिपरिषदद्वारा मिति २०६६/५/३० मा सार्वजनिक क्षेत्रका निकायहरुमा लागू गर्ने निर्णय भएको थियो।
  • यसै सन्दर्भमा नेपालमा सहज कार्यान्वयनको लागि यस लेखामानको नेपाली अनुवाद कार्य समेत सम्पन्न भई प्रकाशित भइसकेको छ।
  • विभिन्न दाताहरुको सहयोगमा नेपाल सरकारद्वारा सञ्चालित सार्वजनिक वित्त व्यवस्थापन सुधार कार्यक्रम अन्तर्गत रही नेपाल सार्वजनिक क्षेत्र लेखामान तयार गरिएको हो।
  • नेपाल सरकारको वित्तीय प्रतिवेदन अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यले नेपाल सार्वजनिक क्षेत्र लेखामान लागू गरिएको हो।
  • नगदमा आधारित लेखाङ्कन प्रणालीमा कुनै निकायले नगद प्राप्ति वा भुक्तानीमा आधारित रहेर कुनै कारोबार वा क्रियाकलापलाई मान्यता दिइन्छ भने प्रोदभावी लेखाप्रणालीमा प्रभावका आधारमा रहेर कारोवार वा क्रियाकलापलाई मान्यता दिइन्छ।
  • प्रोदभावी लेखाप्रणालीका वित्तीय प्रतिवेदनहरुले वित्तीय स्थितिको विवरण, वित्तीय कार्यसम्पादनको विवरण, नगद प्रवाह विवरण, पूँजी तथा सम्पत्ति परिवर्तनको विवरण लगायतका विवरणहरु प्रस्तुत गर्दछ भने नगदमा आधारित लेखाप्रणालीले नगद प्राप्ति तथा भुक्तानीको विवरण मात्र प्रस्तुत गर्नुपर्दछ।
  • यसकारण सामान्यतः व्यवसायिक निकायले प्रोदभावी लेखाप्रणाली अवलम्बन गर्ने गरेको भएतापनि सजिलो तथा व्यवहारिक भएकोले सार्वजनिक निकायले हालसम्म पनि नगदमा आधारित लेखाप्रणाली नै अवलम्बन गरेको पाइन्छ।
  • नगदमा आधारित रहेर राखिने सार्वजनिक क्षेत्रको लेखा तथा प्रतिवेदन प्रणालीलाई यथार्थपरक र अन्तर्राष्ट्रियस्तरको बनाउनको लागि आवश्यक मापदण्डको व्यवस्था गर्नु यस लेखामानको प्रमुख उद्देश्य हो।
  • यस लेखामानका दुई भाग रहेका छन्। पहिलो भागमा रहेका प्रावधानहरु वाध्यकारी छन्, जसले नगद आधार लेखाङ्कनको वित्तीय प्रतिवेदनका आवश्यकतालाई समेटेको छ। यसैगरी दोस्रो भाग वाध्यकारी छैन, यसले नगद आधार लेखाङ्कनमा प्रतिवेदन गर्नका निम्ति प्रोत्साहित अतिरिक्त खुलासाहरु उल्लेख गर्दछ।
  • विशेष गरी सार्वजनिक निकायको लागि नगदमा आधारित सार्वजनिक गरिने वित्तीय विवरण (General Purpose Financial Statement) को प्रस्तुतीकरण गर्ने तरिकाको व्यवस्था गर्नु यस मानको उद्देश्य हो।
  • यसले सार्वजनिक निकायको वित्तीय प्रतिवेदनको एकीकृतता साथै पारदर्शितालाई अभिवृद्धि गर्दछ साथै अन्य निकायहरूसँगको तुलनात्मकता पनि अभिवृद्धि गर्दछ।
  • यस लेखामान लागू गर्ने क्रममा हाल भइरहेको बजेट कोड, लेखा राख्ने ढाँचा, प्रतिवेदन प्रणाली लगायतका पक्षहरूमा केही परिवर्तन ल्याउन सक्छ।
  • यसले हाल भइरहेको लेखाप्रणालीको तुलनामा राजस्व, सार्वजनिक खर्च, ऋण तथा लगानीको विवरणहरु यथार्थपरक बनाउन मद्दत पुर्‍याउने विश्वास लिन सकिन्छ। 
  • साथै यसले वित्तीय प्रणालीलाई विश्वसनीय, पारदर्शी र उत्तरदायी समेत बनाउन सहयोग पुर्‍याउछ।
  • वित्तीय प्रणाली राम्रो भएमा देशमा सुशासन कायम भई देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने कुरामा विश्वास लिन सकिन्छ।

Post a Comment

0 Comments