म आफै पनि घुमेका देशका अधिकांश ठाउँमध्ये रेसुङ्गाले जस्तो आनन्द अरु कुनै ठाउँले दिएका छैनन्। मेरो आफ्नो गृहजिल्ला भएकोले म यसो भन्दै छैन। यहि सौम्य प्रकृतिले नै होला धेरै ऋषि र तपस्वीहरुलाई यस ठाउँले लोभ्याएको। तर विडम्बना पर्यटक आवागमन शुन्यप्राय देख्दा मन सधै अमिलो हुन्छ। धेरै प्रशासक, नेता, मन्त्री यहीँ ठाउँले जन्मायो, शिक्षामा अग्रणी हुँदाहुँदै पनि अपेक्षित विकास हुन सकिनरहेको अवस्था छ। उद्योगपति शेखर गोल्छालाई पनि लोभ्याएछ यस ठाउँले, खुसी लाग्यो।
नयाँ पत्रिकामा उनकै शब्दमा, "गुल्मीको सदरमुकाम तम्घास। साँघुरो सडक हुनाले तम्घास पुग्न गाह्रो रहेछ, तर पुगेपछि खुबै राम्रो लाग्यो। हालै तम्घास पुगेको थिएँ। एक रात बसेँ पनि। तम्घास युनिक लाग्यो। मौसम पनि ठण्डा। त्यहाँको बजार पनि युनिक रहेछ। शान्त र सफा पनि। सबैभन्दा बढी मन परेको त्यहाँका मान्छेको मुहारमा ‘हेप्पिनेस’ हो।
मान्छेको ड्रेसअप पनि राम्रो लाग्यो। नेपालका शिक्षित जिल्लामध्ये एक होला, गुल्मी। धेरै गुल्मेली ब्युरोक्र्याटमा छन्। तम्घास बजार अग्लो रेसुंगा डाँडाको काखमा छ। रेसुंगा जहिल्यै हरियाली रहन्छ रे! हामी जाँदा लालीगुराँस फुलेर डाँडै राताम्य भएका थिए । मेरो फेबरेट सिटीमा तम्घास पर्छ। संसार घुम्दा लन्डन र देश चहार्दा तम्घासले लोभ्यायो।"
गुल्मी साच्चै नै अनुपम छ, धेरै ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भावना छन्। पर्यापर्यटनका साथै ऐतिहासिक एवं धार्मिक पर्यटनको सम्भावना छ। सरोकारवाला सबैको ध्यानमात्र होइन यी कुराहरु प्राथमिकतामा पर्नुपर्ने आवश्यकता छ।
गुल्मी आफैमा त्यति अविकसित जिल्ला पनि होइन। तर दिन प्रतिदिन पहाडबाट तराइ बसाई सर्नेको जनलहरले गुल्मीका ग्रामिण बस्तीहरु रित्तिने क्रम जारी छ। त्यसैले पहाडबाट तराइ तिर बसाई सर्नेको जनलहर रोक्न स्थानीय तहका जनप्रतिनिधिले समस्या र सम्भावनाको पहिचान गरी तीनै तहका सरकारको सार्थक प्रयास आवश्यक छ। प्रत्येक गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा, स्वरोजगारको उचित वातावरण, प्राविधिक सहित उच्च शिक्षा, सडक सुलभता, पर्यटकीय पूर्वाधारको विकास जस्ता केहि न्युनतम काम गर्न सकेमा बसाइसराइको दरलाई कम गर्न सकिन्छ।
प्रत्येक निर्वाचन क्षेत्रमा विशेषज्ञ सेवा सहितको कम्तिमा एउटा अस्पताल, प्रत्येक गाउँगाउँमा सडक पूर्वाधार विकास, स्तरोन्नति र कालोपत्रे, अन्तीम स्टेसनका रुपमा रहेका गुल्मीका मुख्य सडकहरुलाई अन्य जिल्लाहरुसम्म जोड्ने, जिल्लाको रेसुङ्गा विमानस्थलसँगको सहज पहुँचका लागि सडकसञ्जाल बढाउने, स्वच्छ खानेपानी र सिंचाईको सुबिधा, देशकै कफी खेतिको उद्गमस्थल स्थल भएकैले कफी खेतिलाई बिस्तार गर्दै ‘इलामको चियाबारी जस्तै’ गुल्मीमा पनि ‘कफीबारी’ को रुपमा पर्यटनको विस्तार गर्ने, गुल्मीको अर्गानिक कफीको ‘ब्राण्डिङ’ गरी देश विदेशमा हाम्रो कफीको निर्यातलाई बढाउने, कालिगण्डकी र बडीगाड नदीमा जलपर्यटनको रुपमा विकास गर्ने, कालिगण्डकी करिडोरले धेरै सम्भावनाका ढोकाहरु खोल्ने हुँदा यसलाई जोड्ने सडकसञ्जाल बढाउने, नेपालको चारधाम मध्येको एक रुरु क्षेत्रलाई प्रचारप्रसार गरी थप पर्यटन गतिविधि बढाउने, रुरु क्षेत्रमा आउने पर्यटकलाई एउटै प्याकेजमा रुद्राबेनी धाम, रेसुङ्गा, विचित्र गुफा, सालिमे दह, दिब्रुङ, कुर्घा मालिका, गुल्मी दरबारलगायतका ठाउँहरु घुम्न जाने व्यवस्था मिलाउने, अन्य सम्भावित पर्यटकीयस्थलहरुको विकास र प्रचारप्रसार गर्ने।
रेसुङ्गा, सालिमेदह लगायत क्षेत्रलाई ट्रेकिंङ रुटको रुपमा विकास गर्ने, र भौतिक संरचनाहरु निर्माण गर्ने। गुल्मीका हरेक सानाठूला नदि तथा खोलाहरुबाट लघु जलविद्युत निकालेर जिल्लालाई विद्युतमा आत्मनिर्भर बनाउने। नयाँ बस्दै गरेका बजारलाई व्यवस्थित गरी एकीकृत बस्तीको रुपमा विकास गर्ने लगायत काम गर्न सकेमा जिल्लाको अवस्था माथि पुग्नेछ। सरकारी सेवामा सबैभन्दा धेरै नाम निकाल्न सफल जिल्लाको उपमा पाएको हाम्रो गुल्मीले सबैभन्दा धेरै स्वरोजगारका अवसर सृजना गर्ने जिल्लाको रुपमा पनि नाम राख्ने बनाउन सक्नुपर्छ।
यो पनिः
गुल्मीको शान्तिपुर स्थित झरनामा निर्मित सुन्दर पार्क। ब्यस्त दैनिकी र तराइको गर्मी बाट केही दिन रेफ्रेश्मेन्टको लागि यो ठाउँको भ्रमणको योजना उत्तम हुनेछ। झरनाबाट झरेको पानीमा प्रकृतिक स्विमिङ पुल र टिमुरेमा होमस्टे सन्चलान गर्न सकेमा हजारौं पर्यटकको गन्तव्य हुनेछ यो ठाउँ।
(तस्विर: Madhav Dhungana) |
0 Comments
Any questions or comments? Drop below. Please keep in mind that it must be a meaningful conversation relevant to the topic.